Thursday, October 21

नसर्ने रोगको नियन्त्रणलाई तीब्र बनाऔं भन्दै डब्लूएचओले गर्यो यस्तो आग्रह

September 11, 2021 53

विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका एकवद्ध हुन आग्रह गरेको छ । यस क्षेत्रमा हुने मृत्यु मध्ये दुई तिहाईको ज्यान नसर्ने रोगका कारण गइरहेको डब्लूएचओले जनाएको छ ।नसर्ने रोग नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई थप जोड दिन डब्लूएचओले आग्रह गरेको छ । नसर्ने रोगले कोभिड–१९ को जोखिम बढाएको बैठकले निष्कर्ष निकालेको छ ।

‘कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको संवेदनशीलतालाई थप उजागर गरिदिएको छ । गम्भीर रोग तथा मृत्युको जोखिम बढ्नुको अलावा, अत्यावश्यक सेवाहरू अवरुद्ध हुनाले नसर्ने रोगहरूको नियन्त्रणमा हासिल गरिएको प्रगति सुस्त भएका छन्’, दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनिन् ।

मुटु सम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूको नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सिंहले बताइन् । सदस्य राष्ट्रहरूबीच आजको बैठकमा दिगो विकास २०३० का लक्ष्य हासिल गर्नका लागि नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको थियो ।

सदस्य राष्ट्रहरूले आँखा तथा मुखको एकीकृत स्वास्थ्य स्याहार र त्यसका लागि क्षेत्रीय कार्य योजना विकास गर्ने सम्बन्धमा पनि छलफल गरेका छन् । मुखको क्यान्सर सबैभन्दा बढी पाँच क्यान्सरमध्ये रहेको छ ।

यस क्षेत्रमा सन् १९९० र २०१५ को बीचमा अन्धोपन तथा मध्यमदेखि गम्भीर दृष्टि दोषको दर घटेको केही प्रमाणहरू छन् । तथापि, विश्वको औसतभन्दा यस क्षेत्रको दर उच्च रहँदै आएको छ । मोतिबिन्दुको प्रभावकारी शल्यक्रियाको दर लक्ष्यभन्दा कम रहेको छ । सन् २०२० मा गरिएको मुख सम्बन्धि स्वास्थ्य नीतिहरूको अवस्था विश्लेषणले केही प्रगतिभएको देखाएको भएता पनि सन् २०२५ का लक्ष्यहरू भेट्नका लागि अझ धेरै अन्तर विद्यमान रहेको देखाएको छ ।

यस क्षेत्रको एक चौथाइ वयस्क जनसंख्या उच्च रक्तचापबाट पीडित छ भने प्रत्येक १२ जना वयस्कमध्ये एकजनालाई मधुमेह छ । समितिको ७५औं बैठक सन् २०२२ सेटम्बरमा भुटानमा हुने निर्णय गरिएको छ । यही भदौ २२ गतेदेखि सुरु भएको बैठक आज सकिएको छ । बैठकमा दक्षिणपूर्वी एसिया क्षेत्रका नेपाल, भारत, भुटान, श्रीलंकासहित १० देशका स्वास्थ्यमन्त्रीहरू सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्