Tuesday, September 28

एमसीसीः सजिलो छैन संसदबाट पास हुन, दलहरुले देखाए यस्तो सङ्केत

September 10, 2021 31

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ ।

उसले राष्ट्र हितविपरीतका कुनै पनि सम्झौतामा सहमति नहुने भन्दै एमसीसीको विपक्षमा आफूलाई उभ्याएको हो । प्रमुख विपक्षी एमालेले भने अहिले आफूहरूको भूमिकामा परिवर्तन आएको भन्दै एमसीसीको विषयमा कुनै निर्णय लिएको छैन ।

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट यथास्थितिमै पास हुन नदिने अडान लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी संसद्बाट पारित गर्नुपर्ने दबाब दिइरहेका बेला सत्ता साझेदार माओवादी केन्द्रले त्यसका सर्तहरू संशोधन नभई पारित गर्न नसकिने अडान लिएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसद्बाट पारित नहुने बताए । सरकारले एमसीसीबारे सोधेको जवाफ चित बुझ्दो नभएको बताउँदै उनले एमसीसी संसद्मा टेबुल नै नहुने दाबीसमेत गरेका छन् ।

‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमटोल दिएको छ । सम्झौता भइसकेकाले त्यसका सर्तहरूसमेत संशोधन गर्न नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन,’ गुरुङले भने, ‘यथास्थितिमै पारित हुनै सक्दैन । एमसीसी अब संसद्मा टेबुल पनि हँुदैन ।’

नेपाल सरकारले एमसीसीबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो । एमसीसी विशुद्ध रूपमा आर्थिक सहयोग कार्यक्रम रहेको जवाफ दिँदै अमेरिकाले इन्डो प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको उल्लेख छ । साथै नेपाल सरकारसँग यसअघि सम्झौता गरिएकाले एमसीसीका कुनै पनि बुँदामा संशोधन गर्न नसकिने जवाफ अमेरिकाको छ ।

सरकारले प्रश्न सोध्दा सर्तहरू संशोधन गर्न नसकिने जवाफ दिएपछि प्रमुख सचेतक गुरुङले अब यो संसद्मा टेबुल पनि नहुने बताए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका नेता गुरुङले पार्टीले एमसीसी सम्झौताका सर्त संशोधन नभई पारित गर्न नहुने पक्षमै रहेको बताए ।

यसअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत एमसीसी सम्झौताका सर्त संशोधन नभई पारित हुन नसक्ने अडान व्यक्त गरेका थिए ।

एमसीसी पारित गराउन कांग्रेसले अडान लिएपछि सत्तारूढ अन्य राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरू साझा धारणा बनाउन आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताहरूले बिहीबार यस विषयमा छलफल गर्दै सर्त संशोधन गरेर मात्रै पारित गर्नुपर्ने निष्कर्षमा पुगेको एक नेताले बताए । राजधानी दैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्