Saturday, September 18

भीम रावल पक्षलाई ‘सोत्तर’ पार्ने ओलीको रणनीति, ‘प्रवक्ता योगेश भट्टराई होइनन् प्रदीप ज्ञवाली नै हुन्’

September 4, 2021 18

गत भदौ १४ गते नेकपा एमालेले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको थियो। एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तरपार्टी निर्देशन–१२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलसहित हाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष रहेका माधवकुमार नेपाललाई साथ दिएका नेताहरूसहित बसेको थियो उक्त बैठक।उक्त जिम्मेवारी २०७५ जेठ २ गतेको पार्टी संरचना अनुसार तोकिएको थियो। उति बेला प्रदेश इञ्चार्जको भूमिकामा रहेका नेताहरूलाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न टोली बनाइएको छ।

जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ।

त्यस्तै जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली बनाइएको छ। २०७५ जेठ २ गतेकै संरचनामा फर्किएपछि एमाले प्रवक्तामा योगेश भट्टराईको पुनर्बहाली भएको बताइएको थियो।तर, भदौ १७ गते एमाले प्रवक्ताकै जिम्मेवारीमा वक्तव्य जारी गरेर एमालेभित्रको आन्तरिक ‘एकता’ र ओलीको ‘प्रतिशोध’को उदाहरण प्रस्तुत भएको छ।

‘एमाले प्रवक्ता योगेश भट्टराई होइनन्, प्रदीप ज्ञवाली हुन्’- एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको प्रवक्ता यागेशकुमार भट्टराई नभएको प्रष्टीकरण दिएका छन्।एमालेका वरिष्ठ नेता रहेका र हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथ छोडेको समयबाटै प्रवक्ताको जिम्मा फर्किएको भनिए पनि प्रवक्ताको काम प्रदीपकुमार ज्ञवालीले गरेपछि भइरहेको संशयबीच तामाङले उक्त कुरा बताएका हुन्।

एमालेको प्रचार विभाग प्रमुख र प्रवक्ता दुवैमा ज्ञवाली भएकाले सचिव योगेशकुमार भट्टराईलाई तत्काल कुनै जिम्मेवारी नदिइएको तामाङको भनाइ छ। ‘पार्टीको निर्णय वा अध्यक्षले हस्ताक्षर गरेर योगेश कामरेडलाई दिम्मेवारी दिइएको छैन, पार्टीले प्रदीप कमरेडलाई प्रचार विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको छ,’ उनले भने।

एमालेको आन्तरिक विवादका बेला माधव कुमार नेपालको पक्षमा रहेर विभाजनका बेला पार्टी एकता रोजेका तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरी पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने बताउँदै आएका छन्।जेठ २ को अवस्थामा फर्किदा प्रवक्तामा भट्टराई नै थिए। तर, अहिले उनले त्यो जिम्मेवारी पाएका छैनन्।

‘हाम्रो समूहलाई ‘सोत्तर’ पार्ने रणनीति हो’- नेकपा एमालेका एक नेताले भीम रावलसहितका नेताहरूमाथि अध्यक्ष ओलीले प्रतिशोध साँध्न थालेको बताएका छन्। ‘ओलीजीले भीम रावलजीसहितका कामरेडहरूलाई नियोजित रुपमै सोत्तर पार्ने अभियान शुरु गर्नुभयो, अब चाँडै अर्को निर्णयमा हामी पुग्छौं,’ ती नेताले स्वदेश नेपालसँग भने।

यसैबीच, पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल पीपीएलएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष ओली गएनन्।ओली पक्षले एक्लौटी रुपमा कार्यक्रम राखेको बताउँदै पीपीएलएका अध्यक्ष रुद्र नेपालले असन्तुष्टि जानकारी दिएका थिए। उनले कार्यक्रममा नजान आफ्नो पक्षलाई आह्वान नै गरेका थिए। उनी पूर्व माधव नेपाल समूहका हुन्।

तर, ओली निकट रहेका पीपीएलएका महासचिव ईश्वरी भट्टराईले पुनर्जागरण रोकेनन्। यो कार्यक्रम रोक्न पीपीएलएका इञ्चार्ज रघुजी पन्तले सुझाव दिएका थिए। २ जेठ २०७५ अगाडिको एमाले पार्टी संरचनामा पीपीएलएका इन्चार्ज पन्त र अध्यक्ष नेपाल थिए।

प्रतिकृया दिनुहोस्