Tuesday, September 28

वामदेव गौतमको शर्तमा माधव नेपाल लचिलो, यी दुईमध्ये एक पद दिएर पार्टीमा ल्याउने तयारी

August 31, 2021 60

नेकपा एमाले विभाजन भएपछि धेरै नेता तथा सांसदहरुले आफ्नो कित्ता क्लियर गरिसकेका छन्। माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट वैधानिकता पाएसँगै नेताहरुले आफ्नो बाटो रोजिसकेका छन्।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्नुपर्ने समयसिमा दिएको छ। यस्तोमा धेरै जनप्रतिनिधिहरुले आफ्नो कतातिर लाग्ने भनेर निश्चित पनि गरिसकेका छन्। तर, शीर्ष मानिएका एमाले उपाध्यक्ष वामदेव गौतम न यता न उताको स्थितिमा छन्।

पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा हुँदा एकता अभियान चलाउन कम्मर कसेका उनको प्रभावकारिता पनि घट्दै गएको छ। तर अन्तिम समयसम्ममा उनी माधव नेपाल नेतृत्वको एकीकृत एसमा आउने माधवनिकट प्रभावशाली नेता मेटमणि चौधरीले जानकारी दिएका छन्।
गौतमलाई नयाँ पार्टीमा वरिष्ठ उपाध्यक्ष वा सहअध्यक्षका रुपमा ल्याइने चौधरीले बताए।

‘वामदेव गौतम एकीकृत समाजवादी आउने लगभग पक्का भइसकेको छ। उहाँलाई वरिष्ठ उपाध्यक्ष कि सहअध्यक्ष बनाउने भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘यसबारेमा एक–दुई दिनमै निर्णय हुन्छ। ढिलोचाँडो उहाँ आउनुहुन्छ।’

चोधरीका अनुसार गौतमलाई कम्युनिष्ट शक्तिहरुबीच एकता गर्न गठन गरिने समितिको संयोजक बनाउने तयारी पनि भइरहेको छ। यसअघि गौतमले आफूलाई सहअध्यक्ष दिएमा नयाँ पार्टीतिर आउने संकेत गरेका थिए। त्यसको जवाफमा अध्यक्ष माधवकुमार नेपालले निशर्त आए स्वागत गरिने नत्र नयाँ पार्टी खोले हुन्छ भनेका थिए।

तर माधव निकट नेता चौधरीले भने पार्टी अध्यक्षकै सरसल्लाह गौतमलाई स्वागत गर्न लागिएको दाबी गरेका छन्। गौतमलाई पार्टीमा ल्याउन नेपाल सकरात्मक रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्