Monday, December 6

एमाले अध्यक्ष ओलीलाई टेरेनन् प्रदेश १ का मुख्यमन्त्री आचार्यले

August 29, 2021 248

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपछि संखुवासभाका प्रदेशसभा सदस्य तुलसी न्यौपानेलाई मन्त्री बनाउन निवर्तमान मुख्यमन्त्री शेरधन राईले सुझाव दिए। मुख्यमन्त्री आचार्यले आफूनिकट २ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए।

तर, मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद विस्तारको सुरुवातमै राई मात्र नभएर पार्टी अध्यक्ष ओलीको समेत कुरा मान्न आनाकानी गर्दै आफूनिकट बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मात्र मन्त्री बनाए।

यसअघि माधवकुमार नेपाल समूहमा रहेका न्यौपाने सर्वोच्च अदालतको आदेशबाट तत्कालीन नेकपा विभाजित भएपछि ओली समूहमा लागेका सांसद हुन्।

पार्टी अध्यक्षकै निर्देशन आउँदा पनि मुख्यमन्त्री आचार्यले न्यौपानेलाई मन्त्री नियुक्त नगरेको एमाले सांसद राजकुमार ओझा बताउँछन्। ‘विगतमा आफ्नो समूह छाडेर अध्यक्ष ओलीको नेतृत्वलाई साथ दिएकै कारण आचार्यले न्यौपानेलाई मन्त्री नियुक्त गर्न इन्कार गरेको अनुमान लगाउन सकिन्छ,’ उनले भने।

मुख्यमन्त्री आचार्यले ताप्लेजुङका ​साम्सोहाङलाई सामाजिक विकासमन्त्री बनाए भने तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री नियुक्त गरे। दुवै मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ गराए।

यसअघि शुक्रबार दिनभरि चलेको विभिन्न चरणको छलफलमा मन्त्रीका आकांक्षी धेरै जना देखिएका थिए। मुख्यमन्त्री आचार्यले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेका १० जनामध्येबाट मन्त्री बनाउने प्रयास गरेका थिए। तर, १० जना नै उनको सम्पर्कमा नआएकाले उनको प्रयास विफल भयो।

मन्त्रिपरिषद विस्तारमा जीवन घिमिरेदेखि उदयपुरका विमल कार्कीसम्म मन्त्रीक दावेदार देखिएपछि आचार्य दबाबमा परेका थिए। घिमिरेले यसअघि एमाले संसदीय दलको नेताको निर्वाचनमा नेपाल समूह छाडेर शेरधनलाई मत दिएकाले उनीप्रति आचार्य सकारात्मक नरहेको बताइन्छ।

उनले अर्को चरणमा मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्