Monday, December 6

पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री

August 27, 2021 121

पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो कलेज नेपालमा नै निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो मेडिकल कलेज हो।

सन् १९९४ बाट सञ्चालनमा आएको यो मेडिकल कलेज भारतीय समूहले सवा तीन अर्ब रुपैयाँमा बिक्री गर्ने भएको हो। अब असोज १ गते देखी सम्पूर्ण रूपमा यो मेडिकल कलेज बतास र पौडेलले सञ्चालन गर्ने छन् भने मणिपाल समूह पूर्ण रूपमा बाहिरिने छ। मणिपाल खरिदका लागि बतास ग्रुप अन्तर्गत ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर रहने छ । मणिपाल मेडिकल कलेज कुल १० लाख स्क्यायर फिटमा रहेको छ। यसमा ६० रोपनी जग्गा आफ्नै छ भने १५० रोपनी जमिन लिजमा रहेको छ ।

अहिले अस्पतालमा झन्डै ९ सय जना कर्मचारी कार्यरत छन् । हाल अस्पतालमा ७५० बेड छन् । मेडिकल शिक्षामा १०० वटा सिट मणिपालले पाउने गरेको छ । सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरू गरेको थियो।

अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ। अस्पतालको हालसम्म ऋण नभए पनि सरकारलाई झण्डै १ अर्ब कर तिर्न बाँकी रहेको अटोवेज ग्रुपका पौडेलले बताए।सरकारलाई तिर्नुपर्ने करको दायित्व पनि आफूहरूले नै लिएको उनले बताए। ‘अस्पतालको ऋण छैन, करिब १ अर्ब करको दायित्व छ,’ उनले भने, ‘त्यो दायित्व हामीले नै ग्रहण गर्छौं।’ भोलि सम्झौता भएपश्चात एक डेढ महिनाभित्र स्वामित्व हस्तान्तरण भइसक्ने पौडेलले बताए।मेडिकल कलेज सञ्चालन गर्न लगानीकर्ता बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति भएको छ।

प्रतिकृया दिनुहोस्