Saturday, September 18

मध्यरातमा फेरी मेलम्चीमा वितण्डा, थप ३ घर बगायो

August 18, 2021 67

असार १ देखि बारम्बार विपत्तीको सामना गर्दै आएको मेलम्चीमा अविरल वर्षासँगै मंगलवार राति फेरी वितण्डा मच्चाएको छ । मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिएका छन् ।

कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर मेलम्चीमा आएको बाढीले बगाएको हो । बाढीका कारण सो क्षेत्रमा थप घर र बाटोसमेत जोखिममा परेको छ । यस अघि आएको बाढीका कारण घर जोखिममा परेका कारण मंगलवार राती बगाएको घरमा कोही ब्यक्ति थिएनन् । त्यसैले मानविय क्षती भने भएको छैन । घरका सामान पनि थिएनन् । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।

गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्