Saturday, September 25

प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत बनाए दुर्गेशले

August 8, 2021 76

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सो संस्थाको साधारण सदस्यसमेत नरहनेगरी हटाएपछि गायक दुर्गेश थापाले सो निर्णयविरुद्ध ‘बहिष्कार’ गीत ल्याउन लागेको छन् ।

थापाले दुई साताअघि नयाँ तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । यो शीर्षकमा गीत नल्याउन त्योभन्दा अघि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आग्रह गरेको थियो । तर प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानले यो शब्द अ’श्ली’ल भएको ठहर गर्दै गीतमा यो शब्द परिवर्तन गर्न लिखित निर्देशन दुर्गेशलाई दिएको थियो । तर दुर्गेशले सो निर्देशन मानेनन् । आफूले अ’श्ली’ल गीत नल्याएको उनले प्रतिष्ठानले स्पष्टीकरण दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आइतबार बसेको कार्यसमितिको बहुमतले गायक दुर्गेश थापालाई सो प्रतिष्ठानको कलोसूचीमा राखेका छ । साथै उनलाई प्रतिष्ठानको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

आफूलाई यसरी प्रतिष्ठानले बहिष्कार गर्दै कारबाही नै गरेपछि गायक दुर्गेश थापाले सो कारबाहीको विरुद्ध नयाँ गीत ‘कारबाही’ ल्याउन लागेको बताएका छन् । यसअघि आफूलाई धेरैले होच्याएर गीत गाउन नजान्ने भनेपछि आलुजस्तो गायक भनेर आफ्नै कमजोरी घोषणा गर्दै गीत निकालेका यी गायकको कथन छ । अहिले पनि आफूलाई बहिष्कार गरिएका कारण त्यसको प्रतिक्रिया स्वरमा बहिष्कार गीत निकालेको पनि यी गायकले बताएका छन् । अहिलेको पुस्ताको मागअनुसारको गीत आफुले ल्याउने गरेको र त्यस्तो गीत सबैलाई मन नपर्ने पनि यी गायकको दाबी छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानसँग अनाबस्यक इगो लिनुको सट्टा राम्रो गीत ल्याएर आफ्नो छवि अझ माथि बनाउन गायक दुर्गेश थापालाई सुझाव दिएका छन् । प्रतिष्ठानले लोकदोहोरी भाकालाई विकृत हुनबाट जोगाउन प्रयत्न गरिरहेकाले प्रतिष्ठानको सो निर्णयलाई अन्यथा नलिन पनि सुझाव दिएका छन् ।

आफूलाई प्रतिष्ठानले हटाएको चार दिनभित्रै गायक दुर्गेशले नयाँ गीत ‘बहिष्कार’ रेकर्ड गराएर यो गीतको पोस्टरसमेत बिहीबार सार्वजनिक गरेका छन् । गायक दुर्गेशले बिहीबार फेसबुकमा बहिष्कार शीर्षकको गीतको पोस्टर सार्वजनिक गरेका हुन् ।

गायक दुर्गेश थापालाई ख्यास्स पुतली गीतबाट महिलाको यतिबेला अपमान गरेको आरोप लागेको छ । उनले केटाको मात्र स्वरमा यो गीत ल्याएका हुन् । तीजमा केटाको मात्र स्वरमा तीज गीत गाउनुलाई कतिपयले तीज संस्कृतिको व्यंग्य भनेका छन् । यो गीतमार्फत महिलाको स्वतन्त्रतालाई हो’च्याएको आरोपक कतिपयले लगाएका छन् । तर त्यो प्रतिक्रियालाई दुर्गेशले स्वीकार गरेका छन् ।

आफ्नो गीत अ’श्लील नभएको र समय सान्दर्भिक रहेका यी गायकको दाबी छ । गीत निकाल्ने आफ्नो स्वतन्त्रतामाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पदाधिकारीले अंकुश लगाउने काम गरेका कारण बहिष्कार गीत जन्मेको पनि यी गायकको भनाइ छ । यो गीतको भिडियोको छायांकन तयारीमा जुटेका यी गायकले बहिष्कारलाई चाँडै नै बजारमा ल्याउने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस्