Friday, December 3

प्रधानमन्त्री बन्नुस न भन्दा पनि नबनी किन ओलीलाई प्रधानमन्त्रीबाट बिदाइ गर्न चाहदैनन् देउवा ?

March 15, 2021 177

पार्टीबाट प्रधानमन्त्री बन्ने सर्वसम्मत वातावरण बन्दा पनि काँग्रेस सभापति शेरबहादुर देउवा सरकार बनाउने खेलमा लागिसकेका छैनन् । ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेपालको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थालेका छन् ।

अहिलेको राजनीतिक परिदृश्यमा प्रधानमन्त्री बन्ने सम्भावना भएका नेतामा देउवा नै अग्रपंक्तिमा छन् । माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले धेरै अघिदेखि नै देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका हुन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका छन् ।

तर, देउवा अघि बढ्दा पार्टीबाट विद्रोह गरेर ओलीसँगै गठबन्धन गर्ने सम्भावना कम हुने जसपाका नेताहरुको दाबी छ ।

देउवाले ढोकामा आइसकेको प्रधानमन्त्री पदलाई किन झ्यालबाट चिहाइरहेका छन् त ? यी सबै परिदृश्यका पछि देउवाको चाहना मुलुकलाई मध्यावधि निर्वाचनतिरै धकेल्न सकिन्छ कि भन्नेमा केन्द्रीत रहेको उनीनिकट नेताहरु बताउँछन् । ‘सभापतिजीमा कम्युनिस्टहरु फुटेकै बेला निर्वाचनमा गए पार्टीलाई फाइदा हुन्छ भन्ने सोचाइ होला । केही बाह्य कारण पनि होलान्,’ काँग्रेसका एक नेताले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

किन देउवा ओलीलाई हटाएर आफु प्रधानमन्त्री बन्न चाहेनन् ?

कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने
आरोप खेप्दै आएका शेरबहादुर देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन।

नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरूको पूर्ण समर्थन रहेको पदाधिकारी बैठकमा बताएका छन्। यसअघि पौडेलसहित संस्थापन इतर समूहका नेताहरू देउवा प्रधानमन्त्री हुँदा पार्टीको महाधिवेशनमा समेत प्रभाव पर्ने भन्दै उनलाई कुनै हालतमा रोक्नुपर्ने पक्षमा थिए।

तर देउवाले प्रधानमन्त्रीका लागि पार्टी हतारिने पक्षमा नरहेको बताउँदै आएका छन्। देउवाले आइतबार बारामा आयोजित कार्यक्रममा विगतमा मुलुकमा आइपरेका संकटको निकास कांग्रेसले दिँदै आएको बताए। अहिलेको संकटबाट मुलुकलाई निकास दिन कांग्रेस र आफू तयार रहे पनि हतार गर्ने पक्षमा नरहेको दोहो¥याउँदै उनले भने, ‘निकासका लागि सरकारको जिम्मेवारी लिन म तयार छु। तर हतार गर्ने काम छैन।’

के कांग्रेस नेतृत्वमा सरकार गठन हुने स्थिति नआएकाले देउवाले ‘पर्ख र हेर’ को नीति लिएका हुन् ? उनी निकट नेताहरू देउवाको अहिलेको प्राथमिकता प्रधानमन्त्रीभन्दा पार्टी महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पनि कांग्रेस नेतृत्वमा पुग्ने रहेको बताउँछन्। सरकारतिर धेरै ध्यान दिँदा पार्टी सभापति बन्ने कुरा छायामा पर्नसक्ने बुझाइ देउवाको रहेको विश्लेषण सुनाउँदै एक नेताले भने, ‘नयाँ सरकार गठनका लागि परिस्थिति अझै परिपक्व भइसकेको छैन।’

सत्ता साझेदार माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छैन। सरकारमा सहभागी आफ्नो पार्टीका नेताहरूलाई फिर्ता हुन शनिबार आग्रह गरेको उसले आइतबारमात्र औपचारिक पत्र पठाएको छ। एमालेभित्रको विवादले पनि नयाँ रूप लिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्