Wednesday, August 4

संगै भएका साथीहरुलाई बगाएर लग्यो लास पनि भेटिएको छैन, नारायण भने रुखमा अड्केर बाँचे

June 20, 2021 95

जारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेका थिए । असार १ गते साँझ ६ बजे हेलम्बुमा पहिरो आएको सूचना पाएपछि माछा जोगाउनका लागि हतारहतार काम गर्दैै थिए ।

केही माछा सानो खोलामा सारिसकेका थिए तर केही बाँकी थिए । काम गर्दागर्दै एक्कासि मुखका झ्याम्म बालुवाले हानेजस्तो भयो नारायणलाई । एकै सेकेन्डमा उनी ढुंगामा ठोक्किन पुगे । हिलोको छालमा कहिले तल त कहिले माथि बजारिँदै गए उनी ।

पानीमुनि लगभग १ मिनेटसम्म रहँदा पनि उनले चेत गुमाएनन् । ‘पानीमुनि म होसमै थिएँ, आँखा हेर्न सकिनँ, सास फेर्न सकिनँ,’ बाढीमा बग्दै गर्दाको अनुभूति सुनाउँदै नारायणले लोकान्तरसँग भने, ‘अँध्यारो थियो । आँखा खोल्न सक्ने कुरै भएन, ढुंगाले त कति हाने हाने ।’

कसो–कसो ५ मिनेटपछि नारायणको टाउको. पानीबाट बाहिर भयो । उनले रुख देखे, अर्का १ जना अर्थात् ज्ञानेन्द्र पनि रुखमा समाएर बसेका थिए ।

भाग्यले उनलाई त्यहीँ रुखमा लग्यो, उनले तुरुन्तै रुख समाए । बाढीको बीचमा सहकर्मीसँगै भएपनि एकअर्कासँग बोल्ने हिम्मत भएन । बाढीको छालले रुखलाई निरन्तर हल्लाइरह्यो । रुखको सहारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागिरह्यो उनीहरूलाई ।

‘दैवले लाने दिन आजै रैछ, यो रुख नबगाउन्जेल बाँचौंला जस्तो लागेको थियो,’ नारायणले लोकान्तरसँग अनुभूति सुनाउँदै भने, ‘तर ज्ञानेन्द्र दाइलाई त बगाइहाल्यो ।’ सँगै रुखमा समाएर अड्केका सहकर्मी ज्ञानेन्द्रलाई बाढीले बगाएको तलसम्म हेरिरहे नारायण । यी दृश्य र परिवेश हेर्दा नारायणले आफू बाँचिन्छ भन्ने आश मारिसकेका थिए । (न्युज साभार – लोकान्तर) भिडियो तल हेर्नुहोला

प्रतिकृया दिनुहोस्