Wednesday, August 4

रगत पनि चढ्दैन खनालको शरीरमा, शरीर समेत शिथिल भै कामिरहने !

June 16, 2021 123

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो ।

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । नर्भिक अस्पतालमा पुगी उहाँले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिनुभयो । सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गर्नुभएकोथियो ।

नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।

हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट र’गत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

‘शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो। चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्,’ नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले भन्नुभयो।

कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।

थप उपचारका लागि दिल्ली जानुअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको विथोलिएको राजनीतिक अवस्थाले चिन्तित भएको बताउनुभएको छ। एक वक्तव्य जारी गर्दै उहाले भन्नुभएको छ, ‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन्। त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ। राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो।’

देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्ने उहाले बताउनु भएको छ। जनताको चाहना र अपेक्षा विपरित देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको उंहाको भनाइ छ।

रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टीलाई फुटबाट जोगाउन उनले आग्रह गरेका छन्। ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु’, उंहाले भन्नुभएको छ। धन्यवाद !

प्रतिकृया दिनुहोस्