Thursday, October 21

विश्वकप छनोटमा अष्ट्रेलियासंग खेल्दा रोहित चन्दलाइ रातो कार्ड, नेपाली अब १० खेलाडीमै सिमित (१० तस्विर सहित)

June 12, 2021 328

नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको खेल अन्तर्गत पहिलो हाफमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । अष्ट्रेलियाले बल पोसेसनमा वर्चस्व जमाएको पहिलो हाफमा निकै आक्रमण बुनेको थियो । सुरुवातमा नै अग्रता लिएपछि अष्ट्रेलियाले पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेको थियो । पहिलो हाफको अन्त्यतिर रोहित चन्द रातो कार्ड खान पुग्दा नेपाल १० खेलाडीमा सिमित भएको छ ।

खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो । कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए । २८ औं मिनेटमा कप्तान किरणले एज्दीन हर्स्तिचको फ्रिकिक बचाउँदै अष्ट्रेलियालाई अग्रता दोब्बर पार्न दिएनन् ।

३५ औं मिनेटमा अनन्त तामाङले अष्ट्रेलियालाई गोल थप्नबाट रोके । कप्तान लेकिले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अनन्तले उत्कृष्ट ट्याकल गर्दै रोकेका थिए । लगत्तै त्यसै क्लियरेन्समा नेपालको काउन्टर अट्याक विपक्षी गोलरक्षक एन्ड्रयु रेडमेनको हातमा पुगेर रोकिएको थियो । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।

४० औं मिनेटमा मार्टिन बोएलले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरणले बचाए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।

प्रशिक्षक अलमुताइरीले आजको खेलमा मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका थिए । गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाए। अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गरे । गौतम श्रेष्ठले राइट ब्याकमा खेलिरहेका छन् । मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिएका छन् । आक्रमणमा नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन् । श्रोत (हाम्रो खेलकुद)

प्रतिकृया दिनुहोस्