Wednesday, June 16

कोरोनाबाट एकै घरमा आमा,बाबु र छोराको मृत्यु

May 27, 2021 74

कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उहाँका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो । घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताउनुभयो ।

त्यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४घण्टामा शून्यमा झरेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो ।

अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो२४घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५को सघन उपचार कक्ष,२५जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको छ ।

यस वाहेक मोड्रेट केशका चार र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ । सो अवधिमा २८ उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ भने छ जना भर्ना हुनु भएको छ । यसै बीच आज सुदूरपश्चिम प्रदेशभर नौ सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कञ्चनपुर र कैलालीका चार ÷चार तथा अछामका एक सङ्क्रमितको मृत्यु भएको हो । पछिल्लो२४घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पिसिआर परीक्षण हुँदा ४८७ नयाँ सक्रमित थपिएका छन् । यो अवधिमा ५६९ उपचार व्यवस्थापन पछि घर फर्किएका छन् ।

प्रदेश भरीको तथ्याङ्क विश्लेषण गर्दा केही दिन यता कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटको छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङक्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्