Wednesday, June 16

रानीले भेट्न नमानेपछि, ‘माइती प्रवेशमा रोक लगाएजस्तै भयो’ : रुबी राणा

May 25, 2021 92

मरुबी राणा, पहिलो मिस नेपाल । मैले पोस्ट गरेको यो तस्बिर सन् १९९५ को हो । यो तस्बिरमा म, विश्व सुन्दरी ऐश्वर्या राय र त्यतिबेलाको सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारी रहेका छौँ । त्यही बेला पेप्सीकोलामा ‘हिरक साँझ’ को आयोजना गरिएको थियो । त्यति बेला ऐश्वर्या राय पेप्सी को ब्रान्ड एम्बास्टर थिइन् । उनी कार्यक्रमको लागि नेपाल आएकी थिइन् ।

आज चित्रकार भाइले यो फोटो पठाइदिए पछि मेरो मानसपटलमा त्यो पुरानो दिनको सम्झना आएको छ । ‘हिरक साँझ’ मा हामी कार्यक्रममा थियौँ । त्यही दिन ऐश्वर्या र मैले बडा महारानी ऐश्वर्य राज्य लक्ष्मी शाहसँग दरबारमा भेट गर्ने कार्यक्रम तय भएको थियो । रानी, देशको अभिभावक, भगवानको उपनाम पाएको व्यक्तिलाई भेट्न पाउने भन्दा म फुरुङ भएको थिए ।

रानीसँग भेट्ने र कुरा चाहाना पुरा हुने कुरामा विश्वस्त थिए । तर एक्कासि मलाई आयोजकबाट,”तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने” खबरले मनै खिन्न बनायो । म वाक भए, किन यस्तो निर्णय गरियो भनेर मनमा अनेक कुराहरू खेल्न थाले ।

“किन र??” यही प्रश्न थियो मेरो । “खै ! थाहा भएन”, भन्ने जवाफ पाउँदा म वाक भए । “किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने ? ” मनमनै खिन्न भावनाले मलाई खादै थियो।

म पनि वीरगन्ज सहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनक जङ्ग बहादुर राणा र कमला देवी राणाको पक्कै राजकुमारी थिए र त्यस्को साथै नेपालको प्रथम नेपाल सुन्दरी पनि थिए । आजको दिनसम्म पनि रानीले किन भेट्न नमान्नु भएको होला भनेर मनमा खड्किरहन्छ ।

म पनि राणाको छोरी नै थिए, त्यही भएर पनि तर्किनु भएको हो कि भनेर मनमा खड्किरहन्छ । मलाई त मेरो रानीलाई साक्षात् दर्शन गर्नु थियो। ‘उकाली ओराली ‘गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो। रानीको भुक्क फुलेको देवीको जस्तै केश सज्जा हेर्ने धोको थियो । काँधमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो।

कमल कोपिलाजस्तो हातमा लगाएका चुराहरु घन्केको आवाज सुन्नु थियो। जति मैले मेरो रानीलाई चिनेको थिए विश्व सुन्दरीले के चिनेकी थिईन होला ? मलाई किन भेटवार्ता बाट बञ्चित गरिएको होला ? आज पनि यही प्रश्नहरूले मनमा डेरा जमाइरहन्छ तर उत्तर पाउने आशा त छैन ।

प्रतिकृया दिनुहोस्