Monday, October 18

मोरङमा कोरोना परीक्षण गर्दा–गर्दै एक पुरुषको मृत्यु, सँगै टेस्ट गरेकी श्रीमतीको रिपोर्ट पनि पोजेटिभ

May 24, 2021 112

मोरङको बेलबारी नगरपालिकामा कोरोना भाइरस परीक्षण गर्नेक्रममा एक पुरुषको मृत्यु भएको छ । बेलबारी–५ शनिहाटका ४२ वर्षीय एक पुरुषको एन्टिजेन परीक्षण गर्नेक्रममा नै मृत्यु भएको बेलबारी नगरपालिकाका कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले जानकारी दिए । सोमबार मध्याह्न वडा कार्यालयले स्थानीयको कोभिड परीक्षण गर्दै गर्दा उनी आफ्नी श्रीमतीका साथ आएका थिए ।

अरूको परीक्षण हुँदैगर्दा शीतल स्थानमा बसिरहेका उनी श्वासप्रस्वासमा समस्या देखिएपछि बेहोस भएका थिए । त्यसपछि स्थानीयले हतारमा उनको एन्टिजन परीक्षण गर्न सुझाव दिएका थिए । जाँच गर्नेक्रममा नै उनले प्राण त्यागेको फोकल पर्सन विश्वकर्माले जानकारी दिए । उनका अनुसार मृतकको रिपोर्ट पोजिटिभ आएको छ । उनकी श्रीमतीको रिपोर्ट पनि पोजिटिभ आएको उनले बताए ।

विश्वकर्माका अनुसार ती पुरुष केही दिनयता बिरामी अवस्थामा थिए । उनको शव व्यवस्थापनका लागि तयारी भइरहेको छ । यससँगै बेलबारी नगरपालिकामा दोस्रो लहरको कोरोना महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । बेलबारीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्