Saturday, June 19

नेपालमा ३ घण्टाभित्र ३ भूकम्प,सात वटा घर भत्किए, ४ जना घाइते, ‘भूकम्पविद् भन्छन्, जाने क्रम जारी छ, सजग रहनू’

May 19, 2021 118

राष्ट्रिय भूकम्प मापन केन्द्रले लजमजुङमा भूकम्प (परकम्प) जाने क्रम जारी रहेकाले सजग रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छ। केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेनदेखि ८ बजेर २६ मिनेटसम्म ४ म्याग्निच्युडभन्दा माथिका २ पल्ट र ४ म्याग्निच्युडको भूकम्प एकपल्ट गइसकेका छन्।

तीन पटककै भूकम्प लमजुङको भुलभुले भन्ने स्थानकै आपसाप भएर गएको उनले जानकारी दिए। उनका अनुसार सुरुमा ५ बजेर ४२ मिनेटमा ५.८, त्यसपछि ८ बजेर १६ मिनेटमा ४ र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका भूकम्प गएका हुन्। नेपाल खबरका अनुसार ‘४ म्याग्निच्युडभन्दा मुनिका परकम्प अहिले पनि गइरहेका छन्, केही समय जाने क्रम जारी रहन सक्छ,’ ‘त्यसैले त्यस आसपासका बासिन्दाले सजगता अपनाउन जरुरी छ।’

४ म्याग्निच्युडभन्दा माथिको भूकम्प जाने सम्भावना छ कि छैन भन्ने प्रश्नमा भूकम्पविद् अधिकारीले भन्नुभयो, ‘हेर्नुस्, भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिलेसम्म बेनको छैन, गइसकेपछि मापन गर्ने मात्र हो, त्यसैले ठूलो भूकम्प जान सक्छ कि सक्दैन भनेर भन्न सकिने कुरा होइन।’ त्यसैले भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी हुने उंहाले बताउनुभयो।

भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।

घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताउनुभयो । घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पु¥याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।

उमासहित उहाँकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइतेबाट जोगिएको उहाँले बताउनुभयो । श्रृतीले भन्नुभयो, “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ ।”

प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायत काठमाडौंका जिल्लामा समेत धक्का पुगेको बताइएको छ । जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिमसमेत बढेको छ ।

प्रतिकृया दिनुहोस्