Friday, June 25

ओली सरकार ढल्यो, अब केहीबेरमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राजनीनामा दिंदै

May 10, 2021 79

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावकाे पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना हुनुहुन्थ्याे । सभामुख अग्नि सापकाेटाले साे कुराकाे घाेषणा गर्नु भएकाे हाे ।

कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो । कुल सांसद संख्या २७५ अाज उपस्थित संख्या २३२ पक्षमा ९३ विपक्षमा साँसद १२४ तटस्थ सांसद १५ रहनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिष्ट सरकार ढलेको छ । शुरुमा सरकारसँग झण्डै दुई तिहाई बहुमत थियो । तर, नेकपाको विभाजन अनि एमालेभित्रको अन्तरकलहका कारण कम्युनिष्ट पार्टीले जनताबाट प्राप्त जनादेशअनुसार पाँच वर्षसम्म सरकार चलाउन नसकेको हो ।

कम्युनिष्ट सरकारले पाँच वर्ष काम गर्न नसक्नुमा एकले अर्कोलाई आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालले केपी ओलीकै कारण यो स्थिति आएको बताएका छन् भने ओलीले चाहिँ प्रचण्ड र माधव नेपालमाथि दोष लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाए पनि संसदको ठूलो दलको रुपमा सरकार गठन गर्नसक्ने बताएका छन्। संसदमा विश्वासको मतमाथि विभिन्न दलका नेताहरुको धारणा सुनेपछि ओलीले त्यसको जवाफ दिँदै सो कुरा बताएका हुन्।

सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि बढी जनमतका आधारमा पनि, सबैभन्दा बढी सिट भएको पार्टीको हैसियतले पनि सबैपक्षलाई मिलाएर अगाडि जान्छु भन्दा पनि न्यायोचित हिसाबले हेर्दा आफैँले सरकार बनाउने हक राख्ने उनको भनाइ छ। उनले भने, ‘विश्वासको मत भनेको संसदको बाहिर गरिएको हल्ला होइन। संसदबाहिरको आरोप प्रत्यारोप होइन। म कसैलाई आरोपित वा लाञ्छित गरिराखेको छैन।’

संसदको विश्वास छ भन्ने कुराको पुष्टि नभए मार्गप्रशस्त गरिदिनुपर्ने दायित्व आफूमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले पहिला संसदले सुविचारित ढंगले फैसला गर्नुपर्ने बताए। ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन? संसदले आदेश दिओस् आज। छैन भने मार्गप्रशस्त गरिदिन्छु’, ओलीले संसदमा भने। संसदको आदेशसँगै मार्ग प्रशस्तै भइहाल्ने उनको दाबी थियो। यसलाई कुनै जालझेल तिकडम र षड्यन्त्रको रुपमा नबुझ्न उनको आग्रह थियो।

नयाँ सरकार गठनको प्रक्रिया के हुन्छ त?

पूर्वमहान्यायाधिवक्ता तथा प्रधानमन्त्री ओलीनिकट नेताले त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्ने बताए। ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाए यही सरकार कायम रह्यो,’ ‘नपाए राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्ने व्यवस्था छ।’ त्यसो भए राष्ट्रपतिले संविधानको कुन धाराअनुसार कस्तो सरकार बनाउन आह्वान गर्छिन् होला?

‘अहिलेको सरकार संविधानको धारा ७६ (१) अनुसार बनेको हो। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि यो सरकार स्वतः ७६ (२) मा गएको छ,’ तर्क गरे, ‘त्यस आधारमा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्ने कि ७६ (३) अनुसार संसदमा रहेको सबैभन्दा ठूलो दललाई सरकार बनाउन दिने भन्ने राष्ट्रपतिको स्वविवेकले निर्णय गर्ने कुरा हो।’

ति नेताका अनुसार राष्ट्रपतिले संसदबाट संयुक्त सरकार बन्ने सम्भावना देखे ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्ने देखिन्छ। ‘राष्ट्रपतिले ७६ (२) कै धारा प्रयोग गरेर आह्वान गर्नुहुने देखिन्छ,’ उनले थपे।

सोमबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिएर राजीनामा गर्ने र ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको सरकार बनाउने तयारी गरेका थिए। उनको अनुसार नै अहिलेको सरकारलाई ७६ (२) अनुसारको सरकार भनेर अब राष्ट्रपतिले ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने एमालेका नेताहरूको विश्लेषण थियो।

ओलीनिकट एमालेका एक जना उच्च नेताले त्यसबारे खुलासा गर्दै संसद बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिने र साँझ पुनः प्रधानमन्त्रीको शपथ लिने बताएका थिए।

राष्ट्रपति संस्था नै विवादमा तानिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सल्लाहमा अन्तिम समयमा आएर प्रधानमन्त्री ओली त्यो योजना स्थगित गरी संसदमा विश्वासको मत माग्न जाने र बहुमत सांसदको विश्वास नपाए विपक्षमा बस्ने मनस्थितिमा पुगेका हुन्।

संसद पुनर्स्थापना गर्दा ओली सरकार संविधानको धारा ७६ (१) अनुसार रहेको नजिर स्थापित भएको र त्यसपछि अर्को सरकार नबनेकाले अहिलेको ओली सरकारलाई ७६ (२) अनुसारको भन्न नमिल्ने संविधानका व्याख्याताहरूको तर्क छ, जसमा अन्तिम समयमा आएर राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओली पनि सहमत भएको देखिन्छ।

बिहानसम्म प्रधानमन्त्री ओली विश्वासको मत नलिई राजीनामा गरेर जाने पक्षमा हुनुहुन्थ्यो,’ एमालेका एक नेताले भने, ‘कानुनविदका सुझाव र राष्ट्रपतिले चाल्न मिल्ने प्रक्रियाअनुसार त्यसो गर्न नमिल्ने देखिएपछि प्रधानमन्त्रीले राजीनामा नदिई संसदमा विश्वासको मत लिन लाग्नुभएको हो।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए आजै नेपाली कांग्रेसले बहुमत सांसदको हस्ताक्षर लगेर नयाँ सरकारको दाबी राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी छ। तर आज एमालेको माधव नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेकाले नयाँ सरकार गठनका लागि देउवालाई बहुमत पुर्याउन कठिन भएको छ।

प्रतिकृया दिनुहोस्