Tuesday, June 15

कोरोनामा नेपालमा नयाँ रेकर्ड, यो भन्दा अघि यस्तो कहिल्यै थिएन

May 5, 2021 93

नेपालमा गत २४ घण्टामा थप ८,६०० जना भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार उसले सो अवधिमा थप ५८ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ। यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो। अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्।

सरकारले मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

अहिलेको वृद्धिसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६६,३०० नाघेको छ। तीमध्ये ४,४६४ जना संस्थागत आइसोलेशनमा र बाँकी ६१,५०० जनाजति घरममै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मन्त्रालयले गरेको ब्रीफिङमा बोल्दै डा. गौतमले सोमवार यता नेपालमा ५३,५४५ वटा परीक्षण गर्दा २३,७१३ मा सङ्क्रमण पुष्टि भएको बताए। यसले सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखाउँछ।

उनका अनुसार सो अवधिमा ५,७८९ जना सङ्क्रमणमुक्त भएका छन्। सरकारको तथ्याङ्कअनुसार बुधवार अपराह्णसम्म देशभिर ६६,३५२ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

विगत २४ घण्टा पीसीआर विधिबाट २०,७५६ नमुनाको र एन्टिजन विधिबाट ६१६ जनाको परीक्षण गरिएकोमा क्रमशः ८,६०५ र ५४ गरी कुल ८,६५९ जनामा कोभिड-१९ पुष्टि भएको डा. गौतमले बताए।

प्रतिकृया दिनुहोस्