Monday, June 14

निषेधाज्ञा थप कडा गर्ने तयारी, अटेर गरे कारवाही गरिने

May 5, 2021 52

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा अझै कडा बनाउने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या नघटेको भन्दै थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकाहरुलाई पनि अलट हुन आग्रह गरिएको जानकारी दिनुभयो ।

आज बस्ने जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले थप कडाई गर्ने सम्बन्धमा निर्णय गर्नेछ । “निषेधाज्ञाको बाँकी अवधिमा अझै सचेत बन्नुपर्ने देखिएको छ,उहाँले भन्नुभयो’,कारवाहीको प्रकृयालाई पनि बढाउने तयारीमा छौं ।” प्रजिअ लामिछानेले स्वयम निषेधाज्ञा कार्यान्वयन गराउनका लागि जिल्लाका विभिन्न क्षेत्रमा खटिनुभएको छ । चितवनमा निषेधाज्ञाको आज छठौं दिन हो ।

त्यस्तै सिरहामा आंशिक निषेधाज्ञा–कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ ।

सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ भने पूर्वनिर्धारित विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको डिसीसीएमसी सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो । यस्तै भारतसँग जोडिएका जिल्लाका सबै नाका बन्द गरिएकाले यसलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको जनाएको छ । सिरहामा मङ्गलबार एकैदिन ४३ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२९ पुगेको छ भने चार जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्