Friday, December 3

टुँडालदेवीको जात्रामा भाट भटेनी माता र बाबाको यात्रा,टुँडालदेवी माताको आगन सम्म (भिडियो सहित)

April 27, 2021 644

टुँडाल देवीको प्रसिद्ध मन्दिर काठमाडौंको हाँडीगाउँनजिकै बालुवाटारमा छ । यी देवीलाई वैष्णवी देवी पनि भनिन्छ । यिनलाई किन टुँडाल देवी भनियो भन्ने कुरा स्पष्ट छैन । सम्भवतः प्रारम्भमा यस मन्दिरमा पूजाआजाका लागि देवीको मूर्ति टुँडालमा राखिएको थियो । त्यही भएर देवीको नाम टुँडाल देवी पर्न गएको हुन सक्तछ । उक्त मन्दिर लिच्छविकालतिरै स्थापना भएको मानिन्छ ।

टुँडाल देवीको मन्दिर विभिन्न प्रकारका कलाकौशलले भव्य र कलात्मक छ । चैत शुक्ल पूर्णिमाका दिन यिनको जात्रा पनि हुने गर्दछ । जात्राका अवसरमा टुँडाल देवीको मूर्ति खटमा राखेर हाँडीगाउँ क्षेत्रमा घुमाइन्छ । उक्त जात्रालाई गहना खोज्ने जात्रा पनि भनिन्छ । किंवदन्ती अनुसार, टुँडाल देवी, नक्साल भगवती र भाटभटेनी नातेदार थिए । एक दिन यी तीनै जना घुम्नलाई बाहिर निस्कँदा टुँडाल देवीका गरगहना एउटा पोखरीमा खसेर हराएछन् ।

पछि चैत शुक्ल पूर्णिमाका दिन उनका गहना एउटा पोखरीमा भेटिए । त्यही खुसीयालीमा उनको रथयात्रा गर्न लागिएको हो । रथयात्राका अवसरमा गहनापोखरीमा पुगेर त्यही पोखरीमा गहना खोज्ने चलन आजसम्म पनि छ । उक्त पोखरीमा गहना खोज्ने उत्सव गरिने हुँदा उक्त पोखरीलाई नै गहनापोखरी भन्ने गरिएको हो । वि.सं. १८३० सालमा पृथ्वीनारायण शाहले १२९ रोपनी जग्गा यसका लागि गुठी राखिदिएको लिखत पाइन्छ । त्यसपछि मात्र यिनको प्रचार–प्रसार ज्यादा मात्रामा भएको हो । भिडियो सहित

प्रतिकृया दिनुहोस्