Monday, December 6

टिकटकमा मुठीमा पैसा लिएर दु:खीलाई मलहम लगाउने यिनै हुन् पोखराकी २४ वर्षिया ठिटी गिविना मगर, काम चाही यस्तो रहेछ

November 5, 2021 114

छोटो समयमै टीकटक क्रेज नेपालमा यति चाँडो बढ्यो कि राजनीतिज्ञदेखि भुइँमान्छे समेत यसबाट अछुतो छैनन् । आफ्ना भावना र सन्देशलाई १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडिओमा कैद गर्ने होड यतिबेला छ । यो चिनियाँ एपको प्रयोग मनोरञ्जनमात्र हैन, त्यो भन्दा पर छ । पछिल्लो पुस्ताले टीकटकको बहुप्रयोग गर्न थालेको छ । समाजसेवा, ब्रान्ड प्रवद्र्धन, सूचना, समाचारदेखि मनोरञ्जनसम्म यो चिनियाँ एपको प्रयोग भैरहेको छ ।

केहीले चाहिँ यसलाई समाजसेवाको प्लेटफर्मको रुपमा विकास गरिरहेका छन् । ‘टीकटक समाजसेवा’ प्रविधिले ल्याएको यो पछिल्लो सामाजिक ट्रेन्ड पनि हो जसलाई पछ्याउने तन्नेरीको संख्यामा वृद्धि भैरहेको छ । पोखराकी २४ वर्षिया ठिटी गिविना मगर एक प्रतिनिधि पात्र हुन् जो टीकटकलाई सामाजिक हितमा प्रयोग गर्न व्यस्त छिन् । उनका टीकटक पोस्ट चर्चामा छन् । अधिकांशले यसलाई इन्टरटेनमेन्टको माध्यम बनाएको बेला गिविनाले भने यसलाई सामाजिक हितमा प्रयोग गरेकी छिन् ।

हजारौं लाइक र कमेन्टमार्फत प्रयोगकर्ताले उनको टीकटक समाजसेवालाईरुचाएका छन् । धेरैले कलियुगकी भगवानको उपमा समेत दिएका छन् । पेशाले शिक्षिका समेत रहेकी पोखरा हेम्जाकी गिविना शिक्षणसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन् ।

स्कुल छुट्टी हुने वित्तिकै गिविना सडक मान्छेको पीडामा मल्हम लगाउन पुग्छिन् । विपन्न, दुःखी, रोगी र वृद्धलाई सघाउन उनले आर्थिक सहयोग गर्छिन् । पैसा दिने उनको आफ्नै स्टाइल छ । जसलाई टीकटकप्रेमीले रुचाएका छन् । यस्तो पोस्टमा आउने कमेन्टले उनलाई फुरुङ्ग बनाउने गरेको छ । सामान्य परिवारमा जन्मेकी उनलाई सामाजिक सहयोग नगरेसम्म निद्रा लाग्दैन ।

बाल्यकालदेखि नै पैसा बचत गरेर विपन्नलाई सहयोग गर्ने उनको स्वभाव थियो । शिक्षण पेशाबाहेक अहिले उनी दुःखी र गरिब खोज्दै हिँड्ने गर्छिन् । उनी कामबाट उब्रिएको समयमा टीकटकमा लाइभ आउँछिन् । टीकटक लाइभ आफ्ना शुभेच्छुकसँग अन्तक्रिया गर्ने प्लेटफर्म पनि हो उनको लागि । कतिपयले यही एपमार्फत उनलाई समस्या सुनाउँछन् र सहयोगको याचना गर्छन् । उनको पोस्ट हेर्नेहरु कतिपय भावुक पनि बन्छन् । टीकटकमा उनलाई चार लाखले पछ्याएका छन् भने २१ मिलियनले लाइक गरेका छन् ।

अहिलेको दसैँमा वृद्धवद्धालाई शुभकामना दिँदै उनले कतिपयको घरमै पुगेर पैसा, खाना र कपडा बाँडिन् । उनको टीकटक पोस्टमा कतिपय प्रयोगकर्ताले ‘भगवान खोज्न मन्दिर नभै दुःखीको मनसम्म पुगे भगवान भेटिने’ कमेन्ट गरेका छन् । अर्का एक प्रयोगकर्ता भन्छन् ‘बैनि, हजुरको कुन शब्दले बयान गरुँ, म तपाईंको सबै भिडिओ हेर्छु । आँसु झरेको थाहै पाउँदिन । मेरो नजरमा हजुरजस्तो ब्यक्ति यो संसारमै छैन । हजुरको कामप्रति वर्णन गर्ने शब्द नै छैन ।’

नेपाल प्रेससँग खुसी साट्दै गिविना भन्छिन्, ‘पहिला कसैलाई इन्सपायर गर्न सक्दिँन थिएँ । अहिले चँै टीकटकबाट सेयर गरेर अरुलाई पनि इन्सपायर गर्न पाएकी छु । क्लास सकेर बाँकी रहेको समयमा दुःखीलाई खोज्दै हिँड्छु ।’

बाटोमा भेटिएका वृद्धवृद्धा, दृष्टिविहिन, एक छाकको पर्खाइमा बसेकाहरु, अपांग, बालबालिका र भौंतारिँदै हिँडेकालाई सहयोग गर्ने गरेको उनले सुनाइन् । उनी वृद्ध मानिसहरुको तथ्यांक संकलन गर्छिन् र वृद्धाश्रममा लैजान्छिन् । उनले अहिलेसम्म ५० भन्दा बढि वृद्धवृद्धालाई वृद्धाश्रममा लगिसकेकी छिन् । नाजुक अवस्था भएका, मानसिक सन्तुलन र परिवारि गुमाएकालाई पनि उनले सघाएकी छिन् । आफूले टीकटकमा हालेका वेवारिसे मानिसले परिवार र आफन्त फेला पारेको अनुभव पनि उनीसँग छ ।

टीकटक लाइभमा आउँदा गिविना समाजलाई सघाउन आग्रह गर्छिन् । बाटोमा भेटिएकालाई सक्दो मद्दत गर्न अपिल गर्छिन् । विपन्नलाई सघाउन उनले टीकटकको आम्दानी मात्र हैन, आफ्नो गोजीको पैसा समेत खर्चिने गरेकी छिन् । असहायलाई आश्रय दिन मन्दिर शैलीकै आश्रम निर्माण गर्ने उनको योजना छ । श्रोत नेपाल प्रेस

प्रतिकृया दिनुहोस्