Friday, January 21

कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द, आन्तरिक मूल्यांकनद्वारा कक्षा वृद्धि गरिने (बिज्ञप्ति सहित)

April 19, 2021 591

पर्साको वीरगञ्ज महानगरपालिकाले आजदेखि नगर क्षेत्रमा कक्षा ५ सम्मको पठनपाठन बन्द गरेको छ। कोरोना संक्रमणदर तीव्र बनेपछि वीरगञ्ज महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द गरिएको हो। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर कक्षा १ देखि ५ सम्मको पठनपाठन आज (सोमबार) देखि बन्द गरिने जानकारी दिएको हो। महाशाखाका शिक्षा अधिकृत हरि राउतले कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गरिएको जानकारी दिए।

‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कक्षा १-५ सम्मको सम्पूर्ण पठनपाठन अर्को सूचना नहुन्जेलसम्म बन्द गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्ण विद्यालयलाई अनुरोध छ,’ शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमण तीव्र बनेपछि वीरगञ्ज महानगरपालिकाले माथिल्ला कक्षाको जेठमा सञ्चालन गरिने परीक्षा पनि वैशाखमै गर्नेगरी तालिका सार्वजनिक गरेको छ। कक्षा ८ को नगर स्तरीय परीक्षा आगामी जेठ ४ गतेबाट गर्ने भनिएको थियो। कोरोना संक्रममण तीव्र बनेपछि वैशाख १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ।

कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा पनि वैशाख १२ गतेबाटै सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ। परीक्षामा सहभागी हुने विद्यार्थीबीच सामाजिक दूरी कायम गर्न, साबुन–पानीले हात धुने, सेनिटाइजर दल्ने र मास्क लगाउने व्यवस्था अनिवार्य गर्न पनि शिक्षा महाशाखाले अनुरोध गरेको छ। पछिल्लो ४ दिनमा बारा र पर्सामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सयौँमा कारोना संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्